राजनीतिमा नीति–सिद्धान्त प्रधान कि लोकप्रियता ?
सहिदहरूको सम्झना
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई श्रद्धाञ्जली दिँदै प्रचण्डले भने– सपना अधुरै छ
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
कम्युनिष्ट एकताबाट ‘प्रचण्ड’ भागिरहेको ‘विप्लव’को आरोप
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
एकता बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण सभा सम्पन्न
शिवहरि खनाल
हरेक राजनीतिक दलहरुको आ–आफ्ना नीति–सिद्धान्त र कार्यक्रमहरु हुन्छन । कोहि समाजबादी दृष्टिकोणबाट निर्दिष्ट छन भने कोही साम्यवादी । नेपालमा क्रियाशिल राजनीतिक दलहरुका पनि निश्चित मूल्य र मान्यताहरु रहेका छन । रणनीति र कार्यनीतिहरु छन । मार्गदर्शक सिद्धान्तहरु छन । राजनीतिक दलहरुको उद्देश्य लोकतन्त्रको आत्मा विचार, नीति र सिद्धान्तमा आधारित हुन्छन र हुनुपर्छ । लोकतन्त्र केवल मतदानको प्रक्रिया मात्र होइन, यो विचार, मूल्य र दीर्घकालीन दृष्टिकोणमा आधारित शासन प्रणाली हो । तर जब राजनीति विचारको प्रतिस्पर्धा नभई भावनात्मक उत्तेजना, आवेग र ‘हामी कि उनीहरू’ भन्ने बिचमा सीमित हुन्छ, तब लोकतन्त्रको आधारभूत मर्म नै संकटमा पर्छ । हुन त आजभोली संसारभरि नै राजनीतिक विचार र दृष्टिकोणबारे बहस कमजोर हुँदै गएको छ । संसारभरि सबैभन्दा धेरै चर्चा हुने माक्र्सवाद होस् वा पुँजीवाद, यस्ता सैद्धान्तिक प्रश्न माथिको बहस कुनै निष्कर्षमा पुगिरहेको छैन । यसैको परिणाम संसारभरि नै लोकप्रियतावाद (पपुलिजम) राजनीति बढ्दो क्रममा छ । यस्तो राजनीतिको मुख्य लक्ष्य जनतालाई आकर्षक नारा दिएर राजनीतिक सत्ता प्राप्त गर्नु हो र आज नेपाली राजनीति यही मोडमा उभिएको देखिन्छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा २००७ सालको राणाशासन बिरुद्धको क्रान्ति, २०४६ सालको बहुदलको आन्दोलन, १० बर्षे जनयुद्ध देखि २०६२÷६३ को जनआन्दोलन र गणतन्त्र स्थापनासम्मका सबै निर्णायक परिवर्तनहरू स्पष्ट वैचारिक धरातलका कारण सफल थिए । सामाजिक न्याय, समावेशिता, राष्ट्रिय स्वाधीनता, प्रजातन्त्र, स्वतन्त्रता, विकास र संरचनात्मक रूपान्तरण ती आन्दोलनका मुल मुद्धा थिए । तर संविधान निर्माणपछि हुदै आएको राजनीतिक अभ्यासले ती मूल्यहरूलाई क्रमशः ओझेलमा पारेको देखिन्छ । मुलत ः०७२ को संविधान पछि सत्तामा पुगेका दलहरू वैचारिक निष्ठाभन्दा सत्ता–स्वार्थ र अस्वाभाविक गठबन्धनतर्फ मोडिए । अझैपनि समावेशी समानुपातिक व्यवस्था, संघियता जस्ता उपलब्धिहरु संस्थागत हुने कसरतमा छन । दलहरु विच आन्तरिक लोकतन्त्र कमजोर छ र खिचातानी ज्यादा छ । यिनै विचलनले जनतामा गहिरो निराशा र आक्रोश जन्मियो । जसको फाइदा उठाउँदै लोकप्रियतावादी राजनीतिको उदय भयो,जसको चर्चा आजभोली यत्रतत्र सर्बत्र छ ।
वैचारिक स्खलन र राजनीतिक शून्यता
संविधान जारी भएपछि दलहरूले संस्थागत स्थायित्व र नीति–केन्द्रित शासनको अभ्यास गर्नुपर्ने थियो । तर त्यसको साटो सत्तास्वार्थमा आधारित अप्राकृतिक गठबन्धन, अवसरवादी राजनीतिक निर्णय र वैचारिक अस्पष्टताले राजनीति निर्देशित हुन थाल्यो । जनजीविकाका प्रश्न—रोजगारी, शिक्षा, स्वास्थ्य, उत्पादनमुखी अर्थतन्त्र—राजनीतिक बहसको केन्द्रमा रहन सकेनन् । यही असफलता र गैरजिम्मेवारीबाट जनतामा गहिरो निराशा र आक्रोश जन्मियो । राजनीतिक नेतृत्वप्रति विश्वास गुम्न थाले पछि जनता विकल्पको खोजीमा लागे । यही अवस्थालाई आधार बनाएर लोकप्रियतावादी राजनीति जन्म भयो । लोकप्रियतावाद आफैंमा कुनै संगठित राजनीतिक दर्शन नभै स्थापित असन्तुष्टिलाई भावनात्मक नारामा रूपान्तरण गरी सत्ता आर्जन गर्ने शैली हो । यो नीति केन्द्रित भन्दापनि व्यक्ति केन्द्रित हुन्छ; समाधान भन्दा आलोचना बढी हुन्छ; दुरदर्शिता होइन, क्षणिक वाहवाही हुन्छ ।
चकलेटी राजनीतिः आकर्षण र खतरा
पछिल्लो समय नेपाली राजनीतिमा गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको बढ्दो उपस्थितिले यही प्रवृत्तिलाई पुष्टि गर्छ । कलाकार, पत्रकार, प्रशासक वा अभियन्ताका रूपमा बनाइएको सामाजिक छविलाई नै राजनीतिक पूँजी बनाउने क्रम बढेको छ । मध्यम वर्गीय समाजमा ‘चिनिएको अनुहार’प्रतिको आकर्षण स्वाभाविक देखिए पनि यसले नीतिगत राजनीतिलाई विस्थापित गरिरहेको छ । राजनीति कुनै व्यक्तिगत सफलता मात्र होइन । यो शक्ति सम्बन्ध, वर्ग बिश्लेषण, स्रोतको वितरण र सामाजिक न्यायसँग गाँसिएको महत्वपूर्ण विषय हो । संरचनागत बिभेद, बहिष्करण र असमानता नबुझी केवल लोकप्रिय नारामा आधारित नेतृत्वले वास्तविक रूपान्तरण दिन सक्दैन । छविको बलमा उदाएका नेताहरू प्रारम्भमा आशाको प्रतीक त देखिएलान तर समयक्रममा दम्भ, अधिनायक प्रवृत्ति र प्रतिगमनतर्फ मोडिन सक्ने खतरा रहन्छ ।

लेखक
शिबहरि खनाल
सामाजिक सञ्जाल र भीड–केन्द्रित राजनीति
आज सामाजिक सञ्जाल नेपाली राजनीतिको मुख्य रणभूमि बनेको छ । संगठन, वैचारिक बहस र प्रत्यक्ष जनसंवादभन्दा फेसबुक लाइभ, टिकटक भिडियो र ट्रेन्डिङ ह्यासट्याग प्रभावशाली ठानिन्छ । ‘लाइक’ र ‘भ्यु’को प्रतिस्पर्धाले नीति र कार्यक्रमलाई छायामा पारिरहेको छ । यसले स्वस्थ राजनीतिक बहसलाई कमजोर पार्दै आलोचनात्मक चेतलाई नै निशाना बनाइरहेको छ । विधि र संस्थाभन्दा भीडको भावनालाई माथि राख्ने प्रवृत्तिले विधिको शासनलाई गम्भीर चुनौती दिएको छ । दलहरूद्वारा परिचालित साइबर आर्मी र आईटी सेलले सामाजिक सञ्जाललाई आलोचनात्मक बहसभन्दा चरित्र हत्या र घृणाको अखडामा परिणत गरेका छन् । यसले लोकतान्त्रिक संवाद, सहमति र बहुलवादलाई कमजोर बनाउँदै समाजलाई बिभाजनतर्फ धकेलिरहेको छ ।
लोकप्रियतावाद र लोकतन्त्रको संकट
लोकप्रियतावादको उदय पुराना दलहरू प्रतिको बितृष्णाको परिणाम हो । रोजगारी सिर्जना, सामाजिक सुरक्षा, समावेशी विकास र संस्थागत सुधारजस्ता ठोस नीतिले मात्र जनआक्रोशलाई सम्बोधन गर्न सक्छ । नागरिक समाज, बौद्धिक वर्ग र मिडियाले छवि होइन, विचार र कार्यक्रमको कसीमा नेतृत्वको मूल्यांकन गर्ने संस्कृति विकास गर्नुपर्छ । राजनीति शक्तिसर्घष, वर्ग, स्रोत र अवसरको वितरणसँग गाँसिएको गम्भीर वैचारिक विषय हो । यो केवल प्राविधिक ‘डेलिभरी’ मात्र होइन । लोकप्रियतावादीका राजनीति प्रायः सरल जनता र भ्रष्ट कुलिन वर्गको द्वैधतामा आधारित हुन्छ । यस्ता दृष्टिकोणले समाजको जटिलता र विविधतालाई अस्वीकार गर्छ । परिणामतः अल्पसंख्यक, सीमान्तकृत समुदाय र फरक मत राख्ने समूहहरू दबाबमा पर्छन् । संसारभरका उदाहरणले देखाएका छ—लोकप्रियतावाद सत्तामा पुगेपछि संस्थाहरूलाई कमजोर पार्ने, स्वतन्त्र न्यायपालिका र मिडियामाथि दबाब दिने र कार्यकारी शक्तिलाई केन्द्रित गर्ने दिशामा जान्छ । नेपाल जस्तो कमजोर संस्थागत आधार भएको लोकतन्त्रमा यस्तो प्रवृत्ति झन् जोखिमपूर्ण हुन्छ । व्यक्ति केन्द्रित राजनीति अधिनायकवादको जोखिम हो भन्ने विश्वमा प्रमाणित हुदै आइरहेको छ ।
आर्थिक र सामाजिक मुद्दामा मौनता
नेपालको अर्थतन्त्र गम्भीर संकटमा छ । रेमिट्यान्समा निर्भरता, उत्पादन क्षमताको ह्रास र बेरोजगारी ब्याप्त छ । पूँजि पलायन र व्यापार घाटा बढदो छ । तर लोकप्रियतावादी राजनीतिले आत्मनिर्भर अर्थतन्त्र, औद्योगिकीकरण र संरचनात्मक सुधारबारे ठोस दृष्टि दिन सकेको देखिँदैन ।सामाजिक रूपमा पनि जातीय, लैंगिक र क्षेत्रीय विभेद गहिरिदो छ । के यी प्रश्नहरु लोकप्रियतावादीका नाराको केन्द्रमा पर्छन ? संसारभर लोकप्रियतावादी नेतृत्व प्रायः उग्र राष्ट्रवाद, पहिचानको राजनीति र सस्तो लोकप्रियता तर्फ झुक्ने गरेको देखिन्छ । नेपालमा पनि यस्तो जोखिमको सम्भावना देखिन्छ । उदाहरणका रुपमा ट्रम्पको अधिनायकवाद , मोदीको धार्मिक अतिवादलाइ लिन सकिन्छ ।
निष्कर्ष
राजनीतिमा लोकप्रियता र नीति–सिद्धान्तबीचको द्वन्द्व आजको यथार्थ हो । तर लोकतन्त्रको आत्मा लोकप्रिय नारामा होइन, स्पष्ट विचार, जिम्मेवार नीति र संस्थागत प्रतिबद्धतामा निर्भर हुन्छ । लोकप्रियतावाद तत्कालीन आक्रोशको अभिव्यक्ति त हुन सक्छ, तर यसले दीर्घकालीन समाधान दिन सक्दैन । बरु यसले संस्थाहरू कमजोर बनाउने, समाजलाई ध्रुवीकृत गर्ने र व्यक्ति–केन्द्रित सत्तालाई प्रश्रय दिने खतरा बोकेको हुन्छ । नेपाल जस्तो संक्रमणकालीन लोकतन्त्रमा यस्तो प्रवृत्ति अझै जोखिमपूर्ण छ । त्यसैले अबको राजनीतिक बहस ‘को कति लोकप्रिय’ भन्दा ‘कसको नीति कति विश्वसनीय र जनमुखी’ भन्नेमा केन्द्रित हुनुपर्छ । पुराना दलहरूले आत्मसमीक्षा गर्दै वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र र नीतिगत प्रतिबद्धता पुनःस्थापित गर्नैपर्छ । साथै नागरिक समाज, मिडिया र सचेत नागरिकले पनि भावनात्मक उत्तेजनाभन्दा विवेक, बहस र आलोचनात्मक चेतलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । अन्ततः नीति–सिद्धान्तप्रधान राजनीति मात्र लोकतन्त्रको आत्मा जोगाउने र समाजलाई दिगो समृद्धितर्फ लैजाने बाटो हो ।