नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु

जनसंकेत डटकम 2026-01-03
img

शिबहरि खनाल 

नेपाल दक्षिण एसियाका दुई विशाल अर्थतन्त्रहरू चीन र भारतको बीचमा अवस्थित भूपरिवेष्ठित देश हो । नेपाल मुख्यतया कृषि प्रधान देश हो । कृषि देशको एक महत्वपूर्ण आर्थिक गतिविधि हो र नेपालीको प्राथमिक जिबिकोपार्जनको मुख्य श्रोत नै कृषि हो ।  कृषिले   करिब ६२  प्रतिशत जनसंख्याको लागि रोजगारीका अवसरहरू सिर्जना गर्दछ अर्थात्  ६२ प्रतिशत जनसंख्या अझै पनि कृषिमा संलग्न छन्  यद्यपि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा यसको योगदान करिब  २३ प्रतिशत छ । औसत कृषि आकार केवल ०.५५ हेक्टर छ र लगभग दुई तिहाइ किसानहरूसँग कुल खेतीयोग्य जमिनको केवल २५ प्रतिशत स्वामित्व रहेको तथ्यांक रहेको छ । कृषि क्षेत्रका  बहुसंख्यक जनसंख्या  ग्रामीण क्षेत्रमा बसोबास गर्छन  र यसमा प्रायः गरिब साना किसानहरू रहेका छन । नेपाली किसानहरू पुस्तौंदेखि साना स्तरका कृषि गतिविधिहरू, कृषि र पशुपालनमा संलग्न छन् । नेपालको कृषि मिश्रित खेति प्रणालीको पाइन्छ । 

कृषिको ब्यबसायिकरण जग्गाको आकार, प्रयाप्त भौतिक संरचनाहरु, आधुनिक कृषि उत्पादनका प्रविधिहरु, शिक्षाको  स्तर, ऋणमा पहुँच र बजार निकटता जस्ता तत्वहरुमा निर्भर रहन्छ । ठूलो जमिन र ब्यबसायिक दक्षता भएका किसानहरूले व्यावसायिक खेती अभ्यासहरू अपनाउने सम्भावना बढी रहन्छ जबकि सीमित स्रोतसाधन भएका गरिब घरपरिवारहरू लाइ कठिन पर्दछ। पूर्वाधारको खाडल, ऋण पहुँच, र बजार मूल्य  जस्ता प्रणालीगत अवरोधहरूलाई सम्बोधन गर्न सकियो भने व्यावसायीकरणले आय र खाद्य सुरक्षा बढाएर कृषकको  जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्न सक्छ ।  पछिल्ला बर्षहरुमा सरकारी स्तरबाट कृषिलाई व्यावसायिकरण गर्नेतर्फ धेरै प्रयासहरु भइरहेका छन् । जस्तो, एकीकृत कृषि नीति, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता, किसान सूचीकरण तथा बर्गिकरण, कृषि अनुदान, कृषि बीमा, एक गाउँ एक उत्पादन, उत्पादन क्षेत्र, ब्लक, जोन, सुपरजोन आदी सरकारी स्तरका साथै विभिन्न आइएनजिओ र हजारौं एनजिओले कृषिमा अर्बौ लगानी गरेका छन ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्र मेरुदण्डका रूपमा रहेको छ । कुल जनसंख्याको ठूलो हिस्सा  कृषिमा निर्भर रहेतापनि नेपालको कृषि उत्पादन लामो समयदेखि परनिर्भर, परम्परागत र निर्वाहमुखी स्तरको  छ, जसले गर्दा आय वृद्धि, निर्यात विस्तार तथा मुलुकको समग्र आर्थिक विकासमा बाधा पु¥याइरहेको छ । पछिल्ला वर्षहरूमा व्यावसायिक कृषि प्रवद्र्धन गर्न विभिन्न प्रयास भए पनि कृषि व्यवसायीकरणले अपेक्षित प्रगती गर्न सकेको छैन । नेपालमा कृषि व्यावसायीकरणलाई टेवा पु¥याउन विभिन्न संरचनागत, प्राविधिक, आर्थिक तथा सामाजिक चुनौतीहरूले ठूलो अवरोध खडा गरेका छन् ।

          लेखक 

नेपालमा कृषिको व्यवसायीकरणमा देखिएका मुख्य समस्याहरु यस प्रकार छन ः—

 (क) जग्गा चक्लाबन्दीको समस्या ः

नेपालका अधिकांश किसानसँग रहेको जग्गा अत्यन्तै सानो, तथा विखण्डितस्वरूपमा छ । एकै परिवारको जग्गा धेरै ठाउँमा छरिएको हुँदा आधुनिक कृषि प्रविधि, यान्त्रिकीकरण, वा ठूलो मात्रामा व्यावसायिक उत्पादन सम्भव हुँदैन । यस्तो संरचनाले लागत बढाउँछ, उत्पादनशीलता घटाउँछ, र उत्पादकत्वमा गुणात्मक सुधार आउन दिँदैन ।यद्दपी वर्तमान परिप्रेक्ष्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादन क्षेत्र बनाई कार्यक्रम सञ्चालन गरिरहेको छ तर पहाडी क्षेत्रमा यो अझै अपुग छ । शहरीकरणले खेतियोग्य जमिन हृास भैरहेको छ । बढी उत्पादन र निरन्तर बजारीकरणको निमित्त एउटै क्षेत्रमा धेरै जग्गामा खेती गरि एउटै ठाँउमा प्रसस्त उत्पादन गर्नुपर्दछ । यसको लागि जग्गाको चक्लाबन्दी गर्दै सहकारी तथा सामुहिक  खेती प्रणाली आवश्यक पर्दछ ।

(ख) आधुनिक प्रविधि र पूर्वाधारको अभाव ः

कृषि व्यावसायीकरणको आधार आधुनिक प्रविधि, सुधारिएको बिउ–विजन, सिंचाइ सुविधा, ग्रीनहाउस, यान्त्रिकरण  र उन्नत व्यवस्थापन प्रणाली हो । तर नेपालमा धेरै किसान अझै पनि परम्परागत औजार र विधिमा निर्भर छन् । प्रविधि महँगो हुनु, तालिम तथा प्राविधिक सेवा नपाइनु, र प्रविधिको पहुँच कम हुनु कृषि आधुनिकीकरणको मुख्य बाधा बनेको छ ।  सडक, बिजुली बत्ति, जस्ता भौतिक पूर्वाधारहरु पर्याप्त नहुनु पनि चुनौती हो ।

(ग) बजारसम्मको कमजोर पहुँच  र बजार मूल्यको अस्थिरता ः

कृषि उत्पादनलाई व्यावसायिक बनाउन बजारसँगको पहुँच अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर नेपालका धेरै ग्रामीण क्षेत्रमा बाटो, पुल तथा ढुवानी संरचना कमजोर छ । उत्पादन बजारसम्म समयमा पु¥याउन नसक्दा किसानले लागतसमेत उठाउन नसक्ने अवस्था आउँछ । बजार–सूचना प्रणाली कमजोर हुँदा किसानले कुन बाली बढी लाभदायी छ भन्ने निर्णय गर्न सक्दैनन् । कृषि उत्पादनको मूल्य अत्यन्त अस्थिर हुन्छ । बजारमा अचानक मूल्य घट्दा किसानले लागतसमेत पाउन कठिन हुन्छ । यसका लागि न्यूनतम समर्थन मूल्य तथा कृषि बजारिकरणको जिम्मा स्थानीय तहले लिनु पर्दछ ।

(घ) पर्याप्त र भरपर्दो सिंचाइ सुविधाको कमी ः

नेपालको खेती अझै पनि वर्षाको पानीको भरमा निर्भर छ । वर्षैपिच्छे मौसम परिवर्तन र अस्थिर वर्षाले कृषि उत्पादनमा ठूलो नकारात्मक प्रभाव पार्छ । देशभरका कृषि योग्य जमिनमा  सानो अंशमा मात्रै वर्षभरिको सिंचाइ सुबिधा उपलब्ध छ, जसले गर्दा किसानले वर्षमा एक वा दुई पटक मात्रै बाली लगाउन सक्ने अवस्था रहन्छ । सिंचाइको कमीले व्यावसायीकरणको गति लाइ चुनौति दिइरहेको छ ।

(ङ) गुणस्तरीय कृषि सामग्री  तथा मलखादको अभाव ः

उन्नत  बिउ–विजन, मलखाद, औषधि, पशु आहार तथा कृषि यन्त्रको उपलब्धता पर्याप्त छैन । बजारमा नक्कली वा कम गुणस्तरका कृषि सामग्री पाइने हुँदा किसानको उत्पादनमा हानि हुन्छ र व्यावसायिकीकरणमा चुनौति श्रृजना गर्दछ । 

(च) कृषि बिमा तथा अनुदानमा कमि ः

कृषि बिमाको बिस्तार भएको छैन । बाली बिमा र पशुपन्छी बिमाको  भुक्तानी समयमा नहुदा किसानहरुले क्षती व्यहोर्नु पर्दछ । साथै किसानहरुको बर्गिकरण गर्दै सूचीकरण गर्नु पर्दछ र सोही आधारमा वास्तविक किसानहरुलाइ उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्दा कृषिको व्यवसायीकरणमा टेवा पुग्दछ ।

(छ) कमजोर वित्तीय पहुँच ः

कृषि व्यवसायिकरणका लागि पूँजी अत्यावश्यक हुन्छ, तर धेरै किसानहरु बैंक तथा वित्तीय संस्थाबाट सस्तो दरमा ऋण पाउने सुविधाबाट बन्चित छन । अझै  पनि देशका सबै स्थानमा बैक तथा वित्तीय संस्थाहरु पुगेका छैनन । त्यसमा पनि धितो जमानत, कागजी प्रक्रिया, र बैंकिङ औपचारिकताले ग्रामीण किसानलाई ऋण लिन कठिन बनाएको छ । किसानलाइ सहुलियत पूर्ण कर्जाको ब्यबस्था गरिनु पर्दछ । पूँजीको अभावले किसानले आधुनिक उपकरण, बीउ, मल वा सिंचाइमा लगानी गर्न सक्दैनन् ।

(ज) भण्डारण, प्रशोधन तथा चिस्यान केन्द्रको कमी ः

नेपालमा भण्डारण गृह, कोल्ड–स्टोर, प्रशोधन उद्योग तथा गुणस्तरीय प्याकेजिङ सुविधा अत्यन्त सीमित छन् । फलफूल, तरकारी, दुध, मासु तथा अन्य नाशिने वस्तु समयमै बिक्री गर्न नसक्दा किसानको ठूलो हानि हुन्छ । मूल्यवृद्धि गर्ने मूल्य श्रृखला  उद्योगको अभावले किसानको मुनाफा घटाउँछ र उत्पादनमा विविधता ल्याउन सकिँदैन ।

(झ) श्रम अभाव र युवा विदेश पलायन ः

नेपालमा युवाहरू विदेशिने दर बढिरहेको छ । कृषिमा दक्ष तथा सक्रिय कार्यबलको अभाव भएका कारण व्यावसायिक खेती गरिएको जमिनसमेत बेवारिसे बन्ने अवस्था देखिन्छ । बचेखुचेका किसान प्रायः वृद्ध भएकाले नयाँ प्रविधि सिक्न कठिन हुन्छ । वर्तमान अवस्थामा धेरैजसो पहाडी इलाकामा खेतीयोग्य जग्गाहरु बाँझा रहेका छन । जनसंख्या वृद्धि घटदो दरमा  रहेको छ साथै बसाइसराइले पनि  श्रम अभाव गराएकाले कृषिको व्यवसायीकरणमा प्रभाव पारेको छ । 

(ञ) जलवायु परिवर्तन र प्राकृतिक विपद् ः

जलवायु परिवर्तनले वर्षा ढिलो–छिटो हुनु, अनियमित तापक्रम, रोग कीरा बढ्नु तथा बाढी–पहिरो जस्ता विपद् बढाइरहेको छ । यस्तो अवस्थाले व्यावसायिक खेतीमा थप जोखिम ल्याउँछ । मौसम–आधारित जोखिम व्यवस्थापन प्रणाली कमजोर छ । सन्तुलित रुपमा प्राङगारिक र रासायनिक मलको प्रयोग गरेमा व्यवसायिक कृषि उत्पादन प्रभाबकारी हुन्छ र माटोको उर्वराशक्ति बढदछ । 

(ट) नीति तथा संस्थागत कमजोरी ः

सरकारका कृषि नीतिहरू धेरैजसो प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । निरन्तरता नपुगेको नीति, अस्थिर शासनव्यवस्था, तथा संस्थागत समन्वय कमजोर हुँदा कृषि व्यावसायिकरणको प्रगति सुस्त छ । निजी क्षेत्र, सहकारी, तथा सरकारी निकायबीच समन्वय अभाव रहेको छ ।

निष्कर्ष

नेपालमा कृषिको व्यवसायीकरण आर्थिक रूपान्तरणको अनिवार्य पूर्वशर्त हा े। तर साना–विखण्डित जग्गा, प्रविधिको अभाव, सिंचाइ समस्या, बजार पहुँच कमजोर, पूँजी अभाव, बजार मूल्य अस्थिरता, जलवायु परिवर्तन र श्रम अभाव जस्ता चुनौतीहरूले व्यवसायीकरणलाई सीमित पारेका छन ्। यी चुनौती समाधान गर्न राज्य, निजी क्षेत्र, सहकारी संस्था तथा किसानबीच सहकार्य आवश्यक छ । गुणस्तरीय मल, वीउ , उपलब्ध गराउने, बजार–मुखी नीति बनाउने, पूर्वाधार विकास, आधुनिक प्रविधि प्रसार तथा कृषिलाई आकर्षक र मर्यादित व्यवसायका रूपमा विकास गर्ने योजनाले मात्र नेपालमा कृषि व्यवसायीकरणको योजनालाई सफलता दिलाउन सक्दछ । 

 

 

 

 

Related Post