एमाले परित्यागगरी भक्तपुरका नेता काफ्ले समाजवादीमा प्रवेश

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरका प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) परित्यागगरी नेता दामोदर काफ्ले समाजवादीमा प्रवेश गरेका हुन् । चाँगुनारायण ७ निवासी नेता काफ्ले एमाले जिल्ला कमिटी भक्तपुरका पूर्व सदस्य हुन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टीका महासचिव डा. बेदुराम भुसालले उहाँलाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो। नेता काफ्लेलाइ पार्टी केन्द्रिय सदस्य सुबाश कर्माचार्य, भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत, सचिव पुरुषोत्तम लामिछाने लगाएतले स्वागत गर्नु भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको काफ्लेले बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको भन्दै नेता काफ्लेले अब भक्तपुरबाट सयौ एमाले कार्यकर्ताले बिद्रोहगरी एकीकृत समाजवादी रोज्ने बताए । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उनले बताए ।