२०८० चैत्र १० गते शनिवार | 2024 March 23rd Saturday

बालकोटमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी संचालनमा

भक्तपुर, ३ माघ २०७८ । सुर्यबिनायक नगरपालिका-२ बालकोट चोकमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी आजबाट संचालनमा आएको छ । बिहानी बचत तथा ऋण सहकारीले संचालनमा ल्याएको पोलिक्लिनिकको सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापाले उद्घाटन गरेका हुन् ।

आज उक्त्त कार्यक्रममा बोल्दै प्रमुख बासुदेब थापाले निर्वाचित भए पछिको साँढे चार बर्ष पत्रकार,जनसमुदाय ,राजनीतिक दल लगायत सरोकारवाला सबैको सहयोगले नगरपालिकाको बिकासमा उल्लेखनीय कार्य गर्न सकेको बताए । नगरभित्र आफ्नो कार्यकालमा एक सय एक किलोमिटर सडक पिच गरिएको भए पनि अझै धेरै सडक पिच गर्न बाँकी रहेको बताएका छन् ।

कार्यकालको अन्तिम चरण तिर फर्केर हेर्दा आफुले नियतबस कुनै कमजोरी नगरेको बताउँदै भुलबस कमजोरी भएको भए क्षमयाचना गर्न पछि नपर्ने पनि व्यक्त्त गरे । पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत होस् भन्ने कामनाका साथ पोलिक्लिनिक सोमबारवारदेखि सञ्चालनमा आएको छ ।

पोलिक्लिनिकका ब्यबस्थापक सन्तोष बोगटीले यहाँ जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताएका छन् । पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको ब्यबस्थापक बोगटीले बताए । सुलभ र सहुलियत रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता राखेर सेवा दिने पोलिक्लिनिकले जनाएको छ ।

हप्ताको सातै दिन खुल्ला रहने यस पोलिक्लिनकले संचालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा बिशेष छुट दिने घोषणा समेत गरेको छ । बिशेषत होलबडी चेक अपमा रु। सात हजार पाँच सय लाग्ने शुल्कमा छुट गरी रु। तीन हजार पाँच सयमै गरिने भएको छ । बिहानी सहकारीमा आबद्ध सदस्यहरुलाई भने सँधैका लागि छुटैछुटको ब्यबस्था गरिएको छ ।

पोलिक्लिकमा डिजिटल एक्स–रे, मुटुरोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउण्ड ,ईको ,ईसिजी,सुगर,प्रेसर,थाईराईड ,मुटु ,महिला ,बाल, तथा लगायतका सबै रोगको चेक जाँच हुने पोलिक्लिनिकका ब्यबस्थापक सन्तोष बोगटीले बताएका छन् । पोलिक्लिनिकमा बिज्ञ डाक्टरद्धारा गुणस्तरीय जाँच र परामर्श हुने ब्यबस्था गरेको बताईएको छ ।

कार्यक्रममा सुनपा का २ नं।वडाध्यक्ष कमलनाथ आचार्यले पोलक्लिनिकले कोरोना संक्रमणको यो बेला अझै प्रभावकारी सेवा प्रवाह गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति,महासंघका निबर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकी,बालकोट प्रहरी प्रभागका प्रमुख सई भुवन खड्का लगायत भक्तपुरका सकृय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस