मनकाे आशा पूरा गरिदिने आशापुरी महादेव

साविक सिपाडोल–४, हाल सूर्यविनायक नगरपालिका–७ मा पर्ने आशापुरी महादेव मन्दिर भक्तपुर र काभ्रेको सिमानामा जगाती चोकबाट १० किमी दूरीमा पर्छ जहाँ जगाती चोकबाट सवारी साधनमा आधा घन्टा र पैदल हिँड्दा करिब दुई घन्टा लाग्छ ।
आशापुरी महादेव नैचाल र काँक्रेबारी गरी दुई नदीको सङ्गमस्थलमा छ । चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको छ जुन अति सुन्दर देखिन्छ । शिवलिङ्ग वरिपरि बेरिरहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ
। मुख्य मन्दिर वरिपरि गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएको पञ्चमुखी धारा (पाँच ढुङ्गेधारा) छन् जहाँ २४सै घन्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्छ ।
मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्रमा भौतिक पूर्वाधारको समेत विकास र विस्तार हुन थालेको छ । मन्दिर वरपरका पुराना सत्तल तथा पाटीको मर्मत तथा पुनःनिर्माण हुन थालेको छ । सुरक्षाका लागि प्रहरी चौकीको स्थापना गरिएको छ । मन्दिरमा व्यवस्थित पूजापाठका लागि २०५४ सालमा श्री आशापुरेश्वर संरक्षण समिति गठन गरिएको छ ।
आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अप्रभंश भई बोलीचालीमा आशापुरी हुन गएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए। विशेषगरी मनले चिताएको इच्छाआकाङ्क्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाइनेसमितिका सदस्य एवम् मन्दिर व्यवस्थापन समितिका संयोजक वीरबहादुर तामाङले बताउँछन्। उनले आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको बताए।
आशापुरी महादेव धार्मिक र सांस्कृतिक दृष्टिले बढी नै महत्वको भएको इतिहास तथा संस्कृतिविद् डा श्रेष्ठकाे भनाइ छ। उनका अनुसार आशापुरी महादेव लिच्छवीकालीन हो जुन शिवपुराणमा वर्णित ६४ शिवलिङ्गमध्ये एक हो ।
भक्तपुर र काभ्रेको संगममा पर्ने आशापुरी महादेव दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास अहिले पनि कायम छ।मन्दिर छेउमा त्रिवेणी छ। नैचाल खोला, काँक्राबारी खोलाको दोभान छ। दोभान नजिकै धारा छन्। मन्दिरमा शिवलिंग पनि बनाइएका छन्। हरिया खेतबालीको बीचमा छ आशापुरी (१६०० मिटर)। मन्दिरको नाम आशापुरी रहनुमा किंवदन्ती छ। किवदन्तीअनुसार उहिल्यै ऋषिमुनिले आफ्नो आशा पूरा होस् भनेर महादेवको तपस्या गरेछन्।
महादेवले ऋषिलाई सुकेको मयल दिएर ‘यो जहाँ पलाउँछ र फुल्छ त्यहाँ तिम्रो आशा पूरा हुन्छ’ भनेछन्। ऋषिले धेरै ठाउँमा मयल रोप्दा नपलाएको र हाल जहाँ आशापुरी छ त्यस ठाउँमा मयल रोप्दा भोलिपल्टै पलाएर उनको आशा पूरा भएछ।मनको आशा पूरा भएकाले यिनलाई आशापुरेश्वर भनिएको स्थानीय बताउँछन्।भक्तपुर टाइम्स