२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

एकजुट भएर निर्वाचनको तयारीमा लाग्न कांग्रेस नेता सिंहको आग्रह

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकजुट भएर निर्वाचनको तयारी गर्न आग्रह गरेका छन्। भक्तपुरको घलातेमा बिहिवार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ को कार्यालय उद्घाटन तथा पार्टीको झण्डोत्तोलन कार्यक्रममा नेता सिंहले आगामी राज्यका तीनै तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न अहिले देखी नै कांग्रेस नेता कार्यकर्ताहरुलाई एकजुट भएर निर्वाचनको तयारी गर्न आग्रह गरेका हुन् ।

मतदाताको भावना अनुसार पार्टीको १४ औं महाधिवेशनको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सहयोग गरेको उनले बताए । नेता सिंहले पहिलो चरणमा मतदाताले नेतृत्व परिवर्तनको ऐजेण्डा नचुराएकाले दोस्रो चरणमा अधिकांश मतदाताको भावना अनुसार देउवालाई सहयोग गरेको स्पष्ट पारेका थिए ।

उनले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले दोस्रो कार्यकालमा पहिले तुलनामा पार्टीले राम्रो ढंगले नेतृत्व दिने विश्वास समेत व्यक्त गरे । उनले भने , ‘मैले पार्टीमा शुरु देखी नै नेतृत्व परिवर्तनको ऐजेण्डा उठाएको थिएँ, तर पहिलो चरणको मतदानमा मेरो ऐजेण्डा रुचाएको पाईन । मलाई कम मत प्राप्त भयो सोही कारण दोस्रो चरणमा धेरै मतदाताको भावना अनुसार सभापतिमा देउवालाई सहयोग गरेको हुँ ।’
उनले आफ्नो निर्णय सही भएको जिकिर गर्दै यसमा धेरै टिका टिप्पणीको जरुरी नभएको बताए । देउवा स्वयम् घरमै आएर सहयोगको आग्रह गरेकाले पनि आफुले देउवालाई सहयोग गरेको बताउँदैं नेता सिंहले देउवालाई सहयोग गर्नुमा कुनै स्वार्थ र लेनदेनको सहमति नभएको दावी समेत गरेका थिए ।

उनले गणेशमानको छोरा भएकै कारणले पार्टीमा नेतृत्वको दावी नगरेको स्पष्ट पार्दै पार्टीमा आफ्नो पनि योगदान र संघर्ष रहेको बताए । ‘म अरु जस्तो राजनीति बाहिर बसेर अन्य पेशा व्यवसाय गरी पछि म त फलानोको छोरा हुँ भन्दै राजनीतिमा आएको मान्छे होइन, म ग्रासरुटदेखी पार्टीमा सक्रिय भई बन्दी जीवनहुँदैं संघर्ष गरी आएको हुँ,‘ उनले भने । उनले कुनै ठूलो अपराध गरेजस्तै सामाजिक सञ्जालहरुमा आफु विरुद्ध कुप्रचार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले अधिवेशनपछि पार्टी थप उर्जावान बनेको र गुटको अन्त्य भई पार्टी एक भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गर्नुभयो ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं। २ का सभापति भेषबहादुर कार्कीले अबको प्रमुख लक्ष्य राज्यका तीन वटै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउनु रहेको भन्दै त्यसका लागि टोलटोलसम्म संगठन बिस्तारलगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस