२०७९ असार १३ गते सोमवार | 2022 June 27th Monday

मध्यपुरका सम्पदा नियाल्दै शताव्दी पुरुष

भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुर थिमी नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी दिदै उनलाई ऐतिहासिक संरचनाको अवलोकन गराएका हुन् । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उनले यहाँको गुरुयोजना, अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्खलगायतका संरचनाका विषयमा बताएका थिए ।

शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगिरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताए । उनले भने, “राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।”

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरेका थिए । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस