समाचार

बैशाखमा प्रथम अन्तराष्ट्रिय अंग प्रत्यारोपन सम्मेलन

भक्तपुर ।नेपालमा आगामी बैशाखमा प्रथम अन्तराष्ट्रिय अंग प्रत्यारोपन सम्मेलन हुने भएको छ ।शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा आगामी २०७६ बैशाख ७ र ८ गते उक्त सम्मेलन हुन लागेको प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

भारतीय अंग प्रत्यारोपण समाजको समेत समन्वयमा हुन लागेको उक्त अन्तराष्ट्रिय अंग प्रत्यारोपन सम्मेलनमा बिभिन्न देशका प्रत्यारोपणका क्षेत्रमा ख्याती प्राप्त विशेषज्ञ चिकित्सक तथा यो क्षेत्रका बिज्ञ प्रतिनिधि सहभागी हुने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखको सहभागीता रहने र अंग प्रत्यारोपणको क्षेत्रमा सम्मेलन थप प्रभावकारी हुने अपेक्षा गरिएको भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो  ।

पछिल्लो समय अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान र सीप एकआपसमा आदानप्रदान गर्ने ध्येयले प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको हो ।

काठमाडौँमा हुने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत बेलायत, जापान, थाइल्याण्ड, अमेरिका देशका अङ्ग प्रत्यारोपण विशेषज्ञ चिकित्सक सहभागिता हुने आयोजक समितिका संयोजक समेत रहेका वरिष्ठ अङ्ग प्रत्यारोपण विशेषज्ञ पडा श्रेष्ठले जानकारी दिनुभयो ।

सन् २००८ देखि नेपालमा मिर्गौला प्रत्यारोपण कार्य शुरु भएको हो । अहिलेसम्म एक हजार २०० भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थानमा मिर्गाैला प्रत्यारोपण हुने गर्दछ ।

सम्मेलनको नारा ‘ब्रिजिङ द ग्याप’ रहेको छ । संयोजक डा श्रेष्ठले नेपालको प्रत्यारोपण सेवालाई अझ विस्तार गर्न सम्मेलनले कोशेढुङ्गाको काम गर्छ ,भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *