अर्थ

पर्यटकलाई आकर्षण गर्दै रुन्चेत गाउँ

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं.२ (साबिक केराैँजा वडा नम्बर ६) स्थित रुन्चेत गाउँ साँस्कृतिक र प्राकृतिक हिसाबले निकै सम्पन्न गाउँ मानिन्छ । समुन्द्र सतहदेखि १७०० मिटरको उचाईमा अवस्थित यो गाउँमा पुग्न सदरमुकाम गोर्खाबाट २२ कोष उत्तर दुरीमा पर्दछ  भने सदरमुकाम आउन दुई दिनको यात्रा गर्नु पर्दछ ।

८० प्रतिशत बाक्लो गुरुङ बस्ती रहेको यो गाउँमा करिब २ सय ८० घरधुरी रहेको छ । विशेष गरी गुरुङ, घले र विश्वकर्मा जातिको बसोबास छ । आफ्नै भाषा संस्कृति र परम्पराले रुन्चेत गाउँको मुहारमा उज्यालो ज्योति छाइरहन्छन् ।

यो गाउँ निकै पूरानो बस्ती भएको गाउँ हो । यो बस्ती पुरानो भएपनि यसको बसोबासको विषयमा कुनै अभिलेख छैन । विगट गाउँ भएकाले पनि कुनै निकायले यो बस्तीको विषयमा अध्ययन गरेका छैनन् ।

त्यसैले कहिलेदेखि मानिसहरुको बसोबास भएको हो यकिन तथ्य छैन । निकै प्रचलित तर बाहिरी रुपमा अन्वेषण नभएको कम्लाकोट जहाँ घले राजाहरुले राजगद्दी सञ्चालन गर्ने दरवारको अवषेशहरु अझै भेटिन्छन् ।

चारैतिरबाट पहाड र हिमालै हिमालको काखले घेरिएको सुन्दर गाउँ जहाँ सुन्दरताको वयान गर्न कठिन हुन्छ । यो गाउँमा पुग्दा गाउँका स्थानीयले गर्ने स्वागत सत्कारले उनीहरुको स्वच्छ भावलाई प्रष्ट झल्काउँछ ।

परिश्रम गर्न कहिल्यै पनि नहिच्किचाउने यहाँका मानिसको दृढ संकल्पले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जाँगरीलो बनाएको छ । हो अहिले यो गाउँका युवायुवती, वृद्धवृद्धा जो कोही पनि आफ्नो गाउँको विकासमा एक भएर लागेका छन् ।

आफ्नो गाउँलाई प्रकृतिले दिएको बरदान भन्दै यहाँका मानिस यसको संरक्षणमा जुटेका छन् । जस्तो सुकै दुःखमा पनि हाँसेर सहयोग गर्ने त्यहाँका मानिसहरुको स्वभाव पुगेपछि पक्कै देख्न सकिन्छ । यहाँको विकास तथा संरक्षणका लागि संघीय सरकार र प्रदेश सरकारले कुनै चासो नदेखाएकोमा स्थानीयले दुःख व्यक्त गरेका छन् ।

आफ्नै धर्म संस्कृति रीतिरिवाज र चालचलनलाई निकै संरक्षणमा जुट्ने गरिन्छ । घरआँगन नजिकै ठूलो न्याउली खोलाको छाङछाङ झर्नाको आवाजले आन्तरिक र बाह्य पर्यटकलाई उत्तिकै मन लोभ्याउँछ ।

यहाँका मानिसको मुख्य पेसा कृषि र पशुपालन हो । बहुमुल्य जडिबुटिहरु तिते, सतुवा, जटामसि, सिल्टिमुर, पाँचऔले, यार्सागुम्बा जस्ता जडिबुटिहरु पाइन्छ । वरिपरि हरियाली र रमणिय वातावरणले त्यहाँका मनोरम स्थलहरुलाई अझ मनमोहक बनाएको छ । डाँफे र मयूरको संगितले  वरिपरि अवलोकन गर्ने मानिसहरुलाई समेत मनोरञ्जन दिन्छ ।

कालो पोखरी ताल पर्यटकीय हिसावले मुख्य गन्तब्यको रुपमा रहेको छ । त्यहाँ नजिकै गणेश हिमालको छायाँले कालो पोखरी ताललाई प्रतिविम्व गर्दछ । समुन्द्र सतह देखि करिव ३ हजार ५ सय ६७ मिटरको उचाईमा रहेको यो ताल पर्यटकीय हिसावले निकै आकर्षण र रमाणीय स्थलको रुपमा मानिन्छ ।

यहाँ विभिन्न प्रजातिका पशुपंछीहरु पाइनुका साथै २०० भन्दा बढी बनस्पतिहरु पाइन्छन् भने विभिन्न मनोरम दृश्यहरुको अवलोकन गर्नुका साथै रमाणीय स्थालहरुको भ्रमण समेत गर्न सकिन्छ । त्यहाँको तालको आफ्नै विशेषता रहेको पाइन्छ तालको संरक्षण गर्ने आफ्नै प्राकृति छ तर वरिपारी संरक्षणको अभावमा दिनहुँ जिर्णा अवस्था बन्दै गए त पनि  प्रदेश सरकार र स्थानीय सरकारले  कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

गणेश हिमालको एक मात्र पायक ‘सर्किट वे’ पनि यही हो । करिब ४६ सय मिटरको उचाइमा अवस्थित विभिन्न साना ठूला हिम शिखरहरुको अवलोकन गर्न सकिन्छ । धार्चे गाउँपालिकाकै एक उद्गम पर्यटकीय गन्तव्यको रुपमा प्रचालित रहेता पनि दक्ष जनशक्तिको अभाव, सूचना तथा प्रचारप्रसारको अभावले खासै ध्यान केद्रित हुन सकेन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *